पाल्पा । गृह मन्त्रालयले चालू आर्थिक वर्षको दोस्रो तीन महिनाको अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय पाल्पा उत्कृष्ट भएको छ ।

यस अघि प्रथम त्रैमासिक नतिजामा पनि जिल्ला प्रशासन कार्यालय पाल्पा सबैभन्दा उत्कृष्ट जिल्ला भएको थियो । उक्त कार्यसम्पादन मूल्यांकनका बेला प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयका सहसचिव एवम नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख आनन्द काफ्ले हुनुहुन्थ्यो। त्यतीबेला पाल्पासँगै जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पनि उत्कृष्ट भएको थियो । यसपटक पाल्पासँगै इलाम र पश्चिम रुकुमले पनि समान अंक प्राप्त गरी उत्कृष्ट भएका छन् ।

मन्त्रालयले भर्खरै सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/८२ दोस्रो त्रैमासिक नतिजामा र पाल्पा, इलाम र रुकुम पश्चिमले जम्मा २० अंकमा १९.५ अंक प्राप्त गर्दै उत्कृष्ट हुन सफल भएका हुन् । पाल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सहसचिव तोयनारायण सुवेदी रहनु भएको छ । उहाँ गत कात्तिक १२ गतेदेखि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा हुनुहुन्छ ।

इलामको प्रमुख जिल्ला अधिकारी रुपमा गत जेठ २३ गतेदेखि सहसचिव कल्पना श्रेष्ठ रहनु भएको छ । यस्तै रुकुम पश्चिममा उपसचिव कुलबहादुर जिसीले गत असोज १४ गतेदेखि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समाल्नु भएको छ ।

मन्त्रालयले तय गरेका विभिन्न सूचकलाई पुरा गरेका आधारमा गरिएको मूल्याँकनका क्रममा १९.३७५ अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय कास्की, रामेछाप, स्याङजा र तेह्रथुम दोस्रो बन्न सफल भएका छन् ।

यस्तै १९.२५ अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय पर्वत, बागलुङ र मनाङ तेस्रो नम्बरमा पर्न सफल भएका छन् । कार्यसम्पादनमा १३.०६२५ अंक प्राप्त गर्दै बाजुरा सबैभन्दा कमजोर देखिएको छ । दोस्रो कमजोरमा १३.५६२५ अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङ देखिएको छ ।