काठमाडौं । इजरायल हमासबीचको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन हुँदैछ। शुक्रबार इजरायलले हमासमा युद्धविराम गर्न सहमति गरी मन्त्रिपरिषदबाट अनुमोदन गरेको थियो।
समाचार संस्था रोयटर्सका अनुसार आइतबार मध्याह्न हमासले तीन बन्धक छाड्ने छ। बन्धकमुक्त हुने तीनै जना इजरायली महिलाहरू रहने पनि रोयटर्सले जनाएको छ। हमासले तीन बन्धक छाड्दा इजरायल जेलमा रहेका ९० जना कैदी रिहा हुनेछन्। सम्झौतामा एक महिला बन्धक हमासले छाडेबापत इजरायलले ३० कैदी रिहा गर्ने भनिएको छ।
हमासले बन्धकमुक्त गरेकाहरूलाई रेड क्रसले इजरायल पुर्याउनेछ। सम्झौता कार्यान्वयन गर्नुअघि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले सम्झौता अनुसार बन्धकहरू नछाडिए वा सम्झौता कार्यान्वयन तलमाथि भए गजामा पुनः आक्रमण गर्ने र त्यसका लागि अमेरिकाले पनि सहमति दिएको बताएका छन्।
सम्झौताअनुसार युद्धविरामको पहिलो ४२ दिनमा हमासले ३३ जना बन्धक रिहा गर्नेछ भने इजरायलले त्यहाँका जेलमा रहेका प्यालेस्टिनी नागरिकहरूलाई रिहा गर्नेछ।
युद्धविराम घोषणा भएको पहिलो दिन हमासले तीन जना बन्धक रिहा गर्नेछ। सुरूमा महिला र इजरायली सेनालाई हमासले बन्धकमुक्त गर्नेछ। हमासले बन्धकमुक्त गर्ने एक इसराइली नागरिकको बदलामा इजरायलले ३० प्यालेस्टिनी कैदी र एक महिला सैनिकको बदलामा ५० जना कैदी रिहा गर्नेछ।
त्यसको एक सातापछि हमासले चार जना बन्धक रिहा गर्नेछ भने त्यसको बदलामा तोकिएअनुसारको कैदी इजरायलले रिहा गर्नेछ। त्यसपछि एक एक सातामा हमासले बन्धक रिहा गर्ने र इजरायलले प्यालेस्टिनी कैदी रिहा गर्ने सम्झौतामा उल्लेख छ।
पहिलो चरणको युद्धविरामको ४२ दिनभित्रै अर्को सम्झौता गरिसक्नुपर्ने चुनौती मध्यस्तकर्ताहरूलाई रहनेछ। यदी ४२ दिनभित्रै दोस्रो चरणको युद्धविराम सम्झौता नभए इजरायलले फेरि गजामा आक्रमण गर्न सक्ने खतरा उत्पन्न भएको छ।
पहिलो चरणको युद्धविरामको समयमा इजरायली सैनिक गजाबाट नफर्कने बरू त्यहाँका वस्तिबाट किनारतिर सर्ने भनिएको छ।त्यस अवधिमा त्यहाँबाट अन्यत्र भागेकाहरू गजामा फर्केर मानवीय सहायता लिन सक्नेछन्। ४२ दिनपछि हुने दोस्रो चरणको युद्धविराममा गजामा दिगो शान्ति घोषणा गर्ने र हमासले बाँकी भएका बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ। दोस्रो चरणको युद्धविरामपछि इजरायली सैनिक गजा क्षेत्रबाट फर्कने भनिएको छ।
तेस्रो चरणको युद्धविराममा गजामा मारिएका इजरायली बन्धक र इसराइलमा मारिएका प्यालेस्टिनी लडाकुको शव एक अर्कालाई फर्काइने छ। त्यसपछि गजामा पुनःनिर्माण योजना कार्यान्वयन गरी इजरायल र गजाको सीमाना खुला गरिने सम्झौतापत्रमा उल्लेख छ।
इजरायल–हमास युद्ध सुरु भएदेखिका मुख्यमुख्य घटनाक्रम :-
- ७ अक्टुबर २०२३ : हमास लडाकुले गाजा क्षेत्रबाट इजरायलमा घुसेर आक्रमण गरे ।
- ७ अक्टुबर : लेबनान र हिजबुल्लाहले इजरायलमा हमला गरेर यो प्यालेस्टिनीको समर्थनमा भएको बताए ।
- १३ अक्टुबर : इजरायलले आक्रमण सुरु गर्न लागेको भन्दै गाजा क्षेत्रका बासिन्दालाई दक्षिणतर्फ जान भन्यो । यसबाट गाजा क्षेत्रका पूरै बासिन्दा विस्थापित भए ।
- १९ अक्टुबर : एक अमेरिकी नौसेनाको जहाजले यमनबाट इजरायलतर्फ प्रहार गरिएको ड्रोनलाई विफल पार्यो । यमनले इरान समर्थित हुथी विद्रोहीले इजरायल र लाल सागर क्षेत्रको बन्दरगाहमा आक्रमण जारी राखे ।
- २१ अक्टुबर : मानवीय संकट गहिरिँदै गएपछि इजिप्टले गाजामा राफा सीमा क्षेत्रबाट राहत सामग्री पुर्याउने अनुमति दियो ।
- २७ अक्टुबर : इजरायलले गाजामा पहिलोपटक स्थल हमला सुरु गर्यो ।
- १५ नोभेम्बर : हमासले प्रयोग गरेको भनेर इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफा कब्जा गर्यो । त्यसको केही हप्तामै गाजाका सबै अस्पताल बन्द भए ।
- २१ नोभेम्बर : इजरायल र हमासले ७ दिनका लागि युद्धविराम घोषणा गरे । आधा बन्धकहरुलाई रिहा पनि गरे ।
- १ डिसेम्बर : युद्ध पुनः सुरु ।
- २६ जनवरी २०२४ : हेगस्थित अन्तर्राष्ट्रिय अदालतले नरसंहार रोक्न इजरायललाई आदेश
- २९ फेब्रुअरी : राहत सामग्रीका लागि लाइनमा उभिएका १०० भन्दा बढी गाजा निवासी इजरायली सेनाको आक्रमणमा मारिए ।
- ७ मार्च : गाजामा भोकमरी र खाद्य संकटका बीच राहत सामग्री पुर्याउन अस्थायी बन्दरगाह बनाउने अमेरिकी राष्ट्रपति जो बाइडको घोषणा ।
- १ अप्रिल : दमास्करस्थित इजरानी दूतावास परिसरमा पनि इजरायलले गरेको आक्रमणबाट सैन्य अधिकारीहरुको मृत्यु । जवाफमा इरानबाट पनि इजरायलमाथि सयौं मिसाइल प्रहार ।
- ५ मे : युद्धविरामको प्रस्ताव स्वीकार गर्ने हमासको प्रतिबद्धता । इजरायलद्वारा अस्वीकार । युद्ध जारी ।
- २३ जुन : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुद्वारा गाजामा हमासविरुद्धको लडाइँ समाप्त हुने चरणमा रहेको घोषणा ।
- २५ जुन : ग्लोबल हंगर मोनिटरदवार गाजामा अकालमा मृत्यु हुने जोखिम बढेको चेतावनी ।
- २ जुलाई : इजरायलद्वारा खान युनिस र रफाह शहरका बासिन्दालाई सो क्षेत्रबाट हट्न निर्देशन । युद्ध सुरुवात भएदेखिकै सबैभन्दा ठूलो निर्देशन भएको संयुक्त राष्ट्रसंघको प्रतिक्रिया ।
- २७ जुलाई : हिजबुल्लाहको रकेट आक्रमणबाट इजरायलको कब्जामा रहेको गोलन हाइट्समा बालबालिकासहित १२ जनाको मृत्यु ।
- १ अगष्ट : हमासका सैन्य प्रमुख मोहम्मद देइफलाई मारेको इजरायली सेनाको दाबी । हमास प्रतिक्रियाविहीन ।
- १७ सेप्टेम्बर : लेबनानमा हिजबुल्लाहले प्रयोग गर्ने विष्फोटक पदार्थसहितका उपकरण नष्ट गरेको इजरायलको दाबी ।
- २८ सेप्टेम्बर : इजरायलको हवाई हमलाबाट लेबनानको राजधानी बेरुतमा हिजबुल्लाहका नेता हसन नरसल्लाहको मृत्यु ।
- ५ अक्टुबर : इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा हमासविरुद्ध अझै ठूलो सैन्य अभियान सन्चालन ।
- १५ जनवरी २०२५ : १५ महिना लामो संघर्षपछि इजरायल र हमासबीच युद्धविराम गर्ने सहमति ।