दलबहादुर गुरुङ
सरकारी विद्यालयमा पढाउने शिक्षकहरुमध्ये कति प्रतिशतले आफ्ना विद्यालयमा सन्तान पढाउँदै आएका होलान् ? सायद यकिन तथ्याङ्क राज्यसँग छैन । न यसबारेमा गहिरो रुपमा शिक्षा तथा प्रविधि मन्त्रालयले खोजेको होला । पढाउने शिक्षकहरुमध्ये कति प्रतिशत आफ्ना सन्तानका नतिजा हेरेर सन्तुष्ट होलान् रु यस्तो तथ्याङ्क हुने कुरै भएन झन् ।
धेरै शिक्षकले आफ्नो विश्वास आफैंले नगरेका हुन् वा विश्वास गर्ने आधार आफैंले सिर्जना गर्न नसकेका हुन् रु हुन त नेपाली भनाइ नै छ-‘हेर्दा अर्काको बारीको मूला ठूलो देखिन्छ’ । सरकारी एवं सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले संस्थागत विद्यालयको पढाइलाई प्राथमिकता दिने गर्छन् । नतिजाका आधारमा मान्नुपर्ने अवस्था पनि छ । यस्तो किन भयो ?
सरकारी शिक्षकसरह तलब, भत्ता प्रायः संस्थागत विद्यालयका शिक्षकले प्राप्त गर्दैनन् । उनीहरुमध्ये तालिम प्राप्त कम छन् । योग्यताकै हिसाब गर्दा पनि कमै भेटिन्छन् । स्थायी हुने कुरै भएन । शुद्ध तलबबाहेक कमै शिक्षकहरुले अतिरिक्त सेवा प्राप्त गर्छन् । ग्रेड, भत्ता पाउने अवसर छैन भन्दा हुन्छ । तर पनि मानक नतिजा संस्थागत विद्यालयकै राम्रो छ भन्ने कुरामा कुनै द्विविधा छैन । यस्तो किन हुन पुग्यो भन्ने कुरामा जिज्ञासा राख्दा आफूप्रति आफ्नै विश्वासको अभाव ठानिन्छ र मानिन्छ ।
उसो भए, शिक्षकमा विश्वास कसरी जागृत गर्न सकिन्छ रु विश्वास सिर्जना गर्ने आधारहरु केके हुन् रु कसरी विश्वास खडा गर्न सकिन्छ रु विश्वास कसले पैदा गर्न सक्छ रु यावत प्रश्नमा घोत्लिने हो भने यसको जवाफ पक्कै प्राप्त हुन सक्नेछ । त्यसका लागि शिक्षकहरुले खोज, अध्ययन र अनुसन्धानमा निकै मेहनत गर्नुपर्ने देखिन्छ । त्यतिमात्र होइन, विद्यालय व्यवस्थापन समितिमा रहेका पदाधिकारी र सदस्यहरुले आफ्नै व्यवस्थापनमा सञ्चालित सामुदायिक विद्यालयहरुमा आफ्ना सन्तानहरु पढाउँछन् रु पढाउँछन् भने कति प्रतिशतले ? सायद यसको एकिन उत्तर प्राप्त गर्न सकिँदैन पनि । समितिका पदाधिकारी र सदस्यहरुले शत प्रतिशत आफ्नै विद्यालयमा आफ्ना सन्तान पढाउने सामुदायिक विद्यालय कुन होला रु छ कि छैन होला ?
यसरी हेर्दा जसले विद्यार्थीको भविष्यको जिम्मेवारी लिएका हुन्छन्, उनीहरुले नै विद्यार्थीका नतिजाप्रति विश्वास गर्न सकिरहेका छैनन् । व्यवस्थापन समितिका पदाधिकारी र सदस्यहरुले शिक्षक र आफूप्रति नै विश्वास आर्जन गर्न नसकेपछिको परिणाम नै सामुदायिक विद्यालयहरुमा देख्न सकिन्छ ।
अर्को कुरा, शिक्षकहरुप्रति अभिभावकहरुको विश्वास कमजोर देखिन्छ । उनीहरु भन्छन्- शिक्षकहरु आफ्ना सन्तानलाई बोर्डिङमा पढाउँछन् । अनि हाम्रा सन्तानलाई उनीहरुले किन र कसरी राम्रो पढाऊन् ? उनीहरु थप्छन्- सरकारी सामुदायिक विद्यालयको व्यवस्थापन समिति गठन हुने बेला चरम राजनीति हुने गर्छ । जसका विद्यार्थी नै विद्यालयमा पढ्दैनन् र पढाउँदैनन्, उनीहरु नै विद्यालय व्यवस्थापन समितिको डाडुपन्यु समाउन आइपुग्छन् । अनि कसरी सामुदायिक विद्यालयको नतिजा उपलब्धिमूलक बन्न सकोस् ?
बैतिर चोर औंला देखाउने बानी परेको हाम्रो समाजमा शिक्षकले भौतिक कुरातिर तेर्स्र्याएर शैक्षिक गुणस्तरमा आँखा चिम्लिएका छन् । अभिभावकहरु नै अनपढ छन्, गँवार छन् । स्टेशनरी सामान नदिई विद्यार्थीलाई विद्यालयमा पठाउँछन् भनेर उनीहरुमाथि आरोपका भारी बोकाउँछन् । यता शिक्षकहरुले राजनीति गर्छन् । कक्षाकोठामा ४५ मिनेट टिकेर पढाउनेहरु औंलामा गन्न सकिने छन् भनेर उनै अभिभावकहरु भन्छन् । तयारी नगरी शिक्षकहरु कक्षाकोठामा जान्छन् । शिक्षकसँग, शैक्षिक सामग्रीका रुपमा लौरोबाहेक अरु केही भेटिन्न भन्ने अभिभावकहरु हामीले नदेखेका र नभेटेका पनि होइनौं, तर आज यसको सत्यतथ्य जवाफ दिने कसले ?
‘शिक्षक सुध्रिएमा पढाइ सप्रन्छ’, अभिभावक र व्यवस्थापन समितिले यही भन्छन् । विद्यालय वर्षमा २२० दिन खुल्नुपर्ने र १८० दिन त पढाइ हुनुपर्थ्यो, तर शिक्षाविद् डा।भोजराज काफ्लेको अध्ययनले नेपालका सामुदायिक विद्यालयहरुमा सबै बिदा काटेर ७९ दिनमात्र पढाइ भएको प्रमाण दिएका छन् । यो बिदालाई घटाउने वा व्यवस्थापन गर्नसक्ने अधिकार वा क्षमता शिक्षकहरुमा मात्र छ । शिक्षकहरु धेरै किन अनुपस्थित छन् रु यस्तै कुराले नतिजा राम्रो आउन सकेको छैन र शिक्षकहरुकै विश्वास घटिरहेको छ । अभिभावक र विद्यार्थीका नजरमा शिक्षक, शिक्षकका नजरमा अभिभावक र व्यवस्थापन समिति अनि व्यवस्थापन समितिका नजरमा शिक्षक, अभिभावक र विद्यार्थी सबै दोषी छन् । सबैतिर चोर औंला ठड्याइएका छन् । यसो हुनुको एउटै अर्थ हो-कोही कसैप्रति विश्वास गर्न लायकका छैनन् ।
नतिजामा सफलता प्राप्त गर्ने नै हो भने ५० प्रतिशत विद्यार्थी जिम्मेवार हुन्छन् । २० प्रतिशत जिम्मेवारीको भागीदार अभिभावक, विद्यालय व्यवस्थापन समिति, घरपरिवार हुने गर्छन् । त्यसैगरी ३० प्रतिशत जिम्मेवारी प्रअ र शिक्षकले लिनुपर्ने देखिन्छ । विभिन्न कालखण्डमा विभिन्न व्यक्तिहरुले गरेका अनुसन्धानको निचोड नै यो तथ्याङ्क हो, तर हामीलाई यो तथ्याङ्कप्रति विश्वास नै छैन । हामीलाई आरोप र दोषप्रति भने पूर्ण विश्वास छ ।
देशकै नमुना सामुदायिक विद्यालय बन्न सफल बुटवलमा रहेको कालिका मानवज्ञान माविका पूर्वप्रअ घनश्याम पाठक भन्छन्-शिक्षक नियुक्तिमा पारदर्शिता, विद्यालय व्यवस्थापन समितिको दबाब कम, शिक्षकहरुमा मैले नै शैक्षिक गुणस्तर कायम गर्न सक्छु भन्ने दृढ संकल्प, नेतृत्व गर्ने खुवी, व्यवस्थापकीय क्षमता र योजना निर्माण एवम् कार्यान्वयन गर्नसक्ने दक्षता भएका प्रअ हुन सकेमा विद्यालयले सोचेको प्रगति र शैक्षिक उपलब्धि हासिल सम्भव छ । त्यसका लागि सबैसँग सबैको विश्वास कायम रहनुपर्छ ।
आरोप(प्रत्यारोप र अविश्वासले विद्यालयको नतिजा सकारात्मकतातिर उन्मुख हुन सक्दैन । शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी र शिक्षासँग सरोकार राख्ने सबै पक्षहरुसँग विश्वासको धरोहर उँचो हुनुपर्छ । एकापसमा विश्वासको डोरी कसिलो हुुनुपर्छ । विश्वासको वातावरण तयार गर्न सबैको भूमिका विश्वसनीय हुनुपर्छ ।
आज सरकारी विद्यालयमा गरिएका लगानी कति प्रतिफलमुखी छ रु कति उपलब्धिपूर्ण छ ? सबैका निम्ति विश्वासिलो छ रु यिनीहरुको जवाफ खोज्नुपर्ने बेला आएको छ । एकले अर्कालाई दोष थुपारेर पानीमाथिको ओभानो हुनु बेकारका कुरा हुन् । बरु हामीले हाम्रो शैक्षिक गुणस्तरका लागि कसले कसरी विश्वासिलो वातावरण तयार गरेर अघि बढ्न सकिएला रु त्यतैतिर चिन्तन गरौं । चिन्ता गरेर सफलता प्राप्त असम्भव नै छ । चिन्तन गरौं, छलफल गरौं, योजनाबद्ध रुपमा लागौं र कार्यान्वयन गर्दै सफलताका सोपान चढौं । यसैमा सबैको हित छ ।
(दलबहादुर गुरुङ, लुम्बिनी प्रदेश मुख्यमन्त्रीको शिक्षा विज्ञको रुपमा हुनुहुन्छ)