भुवन सिंजाली
देवीनगर, पाल्पा । बाल चेतना बाल मञ्च देवीनगर पाल्पाको आयोजनामा नेतृत्व विकास तथा उदघोषण सीप विकास तालिम सम्पन्न भएको छ ।
पुर्वखोला गाउँपालिका वडा नम्बर ४ देवीनगर वडा कार्यालयको लक्षित वर्ग कार्यक्रम अन्तर्गत बालबालिकाको लागि विनियोजन गरेको ६० हजार बजेट मध्येबाट उक्त तालिमको आयोजना गरिएको देवीनगर वडाका सदस्य भुवन सिंजालिले बताउनुभयो । बालबालिकामा नेतृत्व क्षमताको विकास गर्ने, विभिन्न औपचारिक कार्यक्रमहरु संचालन सम्बन्धी सीप अभिबृद्धि गराउने तथा बाल क्लब सक्रिय बनाउने उद्देश्यले तालिम संचालन गरेको बाल मञ्चले जनाएको छ ।
तालिममा नेता र नेतृत्व, नेताका प्रकारहरु, असल नेतामा हुनु पर्ने गुणहरु, नेतृत्व गर्ने सीप तथा नेतृत्व गर्दा ध्यान दिनु पर्ने विषयहरुका बारेमा सिकाईएको थियो। यस्तै कार्यक्रम सञ्चालकको भूमिका, कार्यक्रम सञ्चालन गर्नु अघि गर्नु पर्ने तयारीहरु, कार्यक्रम सञ्चालन गर्ने विधि प्रक्रिया र तरिकाहरु, कार्यक्रम सञ्चालनका क्रममा प्रयोग गरिने भाषा शैली तथा माइक प्रयोग गर्ने सीप लगायतको बारेमा सिकाईएको थियो । सैद्धान्तिक र प्रयोगात्मक अभ्यास सहित सञ्चालित उक्त तालिमको शहजिकरण समाज उत्थान सहयोग केन्द्र पाल्पाका अध्यक्ष बल बहादुर थापा र देवीनगर वडाका सदस्य भुवन सिंजालिले गर्नु भएको थियो ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि पुर्वखोला गाउपालिकाका प्रवक्ता तथा देवीनगर वडाका वडाध्यक्ष मेहर सिं थापाले भौतिक विकास मात्र विकास नभइ मानविय क्षमता वृद्धि गर्नु पनि विकास भएको बताउनु भयो । बालबालिकालाई सचेत र सक्षम गराउन सके भोलि समाज परिवर्तनमा महत्त्वपूर्ण भुमिका निर्भाह गर्न सक्ने अनि सहि नेतृत्व निर्णय लिन सक्ने व्यक्तित्व बन्न सहयोग पुग्ने बताउनु भयो । उहाँले बालबालिकालाई संगठित गर्ने, बैठक बस्ने, छलफल गर्ने, निर्णय निवेदन लेख्न, कार्यक्रम संचालन गर्ने बनाउन बालबालिकालाई नियमित तालिमको आवश्यकता पर्ने पनि उल्लेख गर्नु भयो । यस्तै विभिन्न कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्न बाल मंचलाइ निर्देशन समेत दिदै बालबालिकाको लागि देवीनगर वडाले आर्थिक सहयोग गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।

तालिमका सहभागी ईन्द्रमाया गाहा र कमल सिं मगरले बाल मञ्चले तालिम आयोजना गरि दिएर धेरै कुरा सिक्न पाएको र आगामी दिनमा बालक्लब तथा बाल मंचलाइ सहि तरिकाले अगाडि बढाउन अनि जुनसुकै कार्यक्रम सफताका साथ संचालन गर्न सक्ने भएको भन्दै खुसि व्यक्त गर्नु भयो । बाल चेतना बाल मंचका सहसचिव जानकी सुर्यवंशिको संचालनमा भएको तालिम समापन कार्यक्रम बाल मंचका उपाध्यक्ष खुसि दर्लामीको अध्यक्षतामा सम्पन्न भएको थियो ।