तानसेन, पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले तानसेनको ऐतिहासिक पर्यटकीय स्थल श्रीनगरडाँडामा अन्तर्किया तथा वनभोज कार्यक्रम गरी आफ्नो ३३ औं स्थापना दिवस मनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनु भएका पत्रकार महासंघ पाल्पा शाखाका संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले पत्रकार महासंघको गरिमालाई कायम राख्न नयाँ नेतृत्वलाई आग्रह गर्नु भयो। उहाँले हरेक सामाजिक र राजनीतिक परिर्वतनमा महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको गौरवपूर्ण इतिहास रहेको भन्दै त्यसलाई कायम राख्नु अहिलेको नेतृत्वको जिम्मेवारी भएको उल्लेख गर्नु भयो। २०४९ मा राजनीतिक परिर्वतनपछि पत्रकारिताको विकासक्रमले गति लिँदै गर्दा पत्रकारहरू संगठित भएर महासंघ स्थापना गरिएको स्मरण गर्नु भयो। उहाँले शाखालाई थप गौरवमय बनाएर सबै पत्रकारहरुलाई एउटै छाताभित्र राख्न नयाँ नेतृत्वलाई आग्रह समेत गर्नु भयो ।

महासंघका पूर्व अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी गोविन्द भट्टराईले समाजको ऐनाको रुपमा पत्रकारलाई हेरिने भएकाले सोही अनुरुप काम गर्न पत्रकारहरुलाई आग्रह गर्दै पछिल्लो समय पत्रकारिता क्षेत्रमा थुप्रै चुनौतीहरु रहेकाले त्यसलाई सामाना गर्न पत्रकारहरुले विश्वासनिय पत्रकारिता गर्नुपर्नेमा जोड दिनु भयो । यस्तै महासंघका पूर्व अध्यक्ष राजेश कुमार अर्यालले महासंघको विगतको इतिहासलाई नविर्सन नयाँ नेतृत्वलाई आग्रह गर्नु भयो । महासंघका निवर्तमान अध्यक्ष रेखीराम रानाले पत्रकारिता क्षेत्रलाई स्वच्छ र निपष्क्ष बनाएर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको औल्याउनु भयो।

कार्यक्रममा प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्की, नेपाल प्रेस युनियन पाल्पाकी अध्यक्ष मन गहिरे, आदिवासी जनजाती पत्रकार महासंघका देव पचाभैंया लगायतले पत्रकारहरुको हकहितमा सशक्त भएर लाग्न महासंघलाई आग्रह गरे । सोही अवसरमा महासंघले मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र सफल रुपमा सम्पन्न गराउन महत्वपूर्ण योगदान पुर्‍ याउने तीन जनालाई सम्मान समेत गरको छ ।

निर्वाचन समिति संयोजक गोविन्द भट्टराई, निर्वाचन समिति सदस्यहरु भरत आचार्य, अधिवक्ता जोगबहादुर वि.क.लाई प्रशंसा पत्रले सम्मान गरिएको हो । शाखा अध्यक्ष कमलराज तिमिल्सेनाको अध्यक्षता, उपाध्यक्ष मुक्ति प्रसाद न्यौपानेको स्वागत, सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।