रासस
वालिङ । वालिङ नगरपालिका–१ धरमपानीका कृष्णप्रसाद ढुङ्गानाले व्यावसायिक केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गर्नु भएको छ ।
सबै खर्च कटाएर एक वर्षमा चार हजार पाँच सय दर्जन काँचो तथा पाकेका केरा बेच्दा त्यति रकम नाफा भएको उहाँले बताउनु भयो । “मेरा बारीका केरा स्थानीय व्यापारीले बगैचाबाट नै खरिद गर्छन् ”, उहाँले भन्नु भयो । स्थानीय बजारमा केराको माग उच्च भए पनि मागअनुसार आपूर्ति हुन सकेको छैन ।
तीन वर्षअघि किसान ढुङ्गानाले व्यावसायिक रूपमा केराखेती थाल्नु भएको थियो। व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती गर्न जग्गा सम्म्याउने क्रममा पुरुवा माटोमा केरा राम्रो हुन्छ भन्ने थाहा पाएपछि उहाँले केराखेती प्रारम्भ गर्नु भएको हो । उहाँको बगैचामा स्थानीय र हाइब्रिड केरा फलेका छन् ।
उद्यमी ढुङ्गानाले २० रोपनीमा केराखेती गर्दै आउनु भएको छ । बगैचामा झापाली मालभोग, चिनी केरा, पुरानो मालभोग, धुस्रे र स्थानीय मुग्रे गरी पाँच प्रजातिका केरा लगाउनु भएको छ । उहाँले ४० रोपनीमा ड्रागन फ्रुटको खेती समेत गर्दै आउनु भएको छ ।
साभार: रासस