चिलाङ्दी, पाल्पा । कुटुम्ब मिडिया प्रालिको आयोजना तथा बगनासकाली गाउँपालिकाको प्रवर्धनमा सञ्चालित पाल्पा महोत्सव भव्यताका साथ सञ्चालन भईरहेको छ ।

बगनासकाली गाउँपालिका वडा नं.–१ चिलाङ्दीमा सञ्चालन भईरहेको महोत्सवको मन्त्री परिषद्का अध्यक्ष एव पूर्व प्रधान न्यायधीश खिलराज रेग्मीले गर्नु भएको थियो । पुस १८ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री परिषद्का अध्यक्ष एव पूर्व प्रधानन्यायधीश रेग्मीले महोत्सवबाट स्थानीय लोपोन्मुख कलासंस्कृति, कृषि उत्पादन, कृषि औजारको प्रचार र व्यापार प्रबर्धनमा ठूलो सहयोग पुग्ने बताउनु भएको थियो । यस्ता मेला महोत्सवमा घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुले प्राथमिकता पाउनुपर्नेमा उहाँको जोड थियो । मेला महोत्सवमा बाहिरबाट आयातित बस्तुभन्दा स्थानीय बस्तुहरूको बिक्री स्थल राख्न सुझाव दिनुभयो ।

महोत्सवमा स्थानीय स्थानीय कलासंस्कृति झ्याउरे, सोरठी, रत्यौली, बालन, भजन, कौडा, मारुनी, लाखे, पञ्चेबाजा, लोपोन्मुख कुमाल, बोटे लगायतको कलासंस्कृति जर्गेना गर्ने खालको प्रस्तुती रहने आयोजक संस्था कटुम्ब मिडिया प्रालिका अध्यक्ष नारायण न्यौपानेले जानकारी दिनुभयो । महोत्सवमा १५० स्टल रहेका छन् भने एक लाख ५० हजार दर्शकले अवलोकन गर्ने र ३ करोड बरावरको कारोवार हुने अपेक्षा गरिएको छ ।

महोत्सवमा स्थानीय घरेलु तथा कुटिर उद्योगबाट उत्पादित दुना टपरी, पाल्पा कारागारमा उत्पादन भएका बासका सामग्री, स्थानीय कृषि औजार, बगनासकाली गाउँपालिका नौ वटै वडाका फरक–फरक प्रकृतिको कृषिजन्य बस्तुको स्टल राखिएको छ । यस्तै विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत भईरहेको छ ।