रासस
काठमाडौं । साझेदारी प्रवर्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतीबारे छलफल गर्ने उद्धेश्य सहित दुईदिने नेपाल स्वास्थ्य सम्मेलन शुरु भएको छ ।

‘‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ : नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’‘ शीर्षकमा आयोजित सम्मेलनको उद्घाटन गर्दै स्वनस्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले सम्मेलनबाट प्रवासी नेपाली समुदाय र स्वास्थ्य क्षेत्रका समस्या पहिचान तथा तिनको निराकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले आधुनिक प्रविधिको प्रयोगले स्वास्थ्यलाई प्रभावकारी बनाउन मद्दत मिल्ने समेत उल्लेख गर्नु भयो ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस आधानोम गेब्रेयेससले भिडियो सन्देशमार्फत सम्मेलनको सफलताको कामना गर्दै स्वास्थ्यकर्मीहरू स्वास्थ्य प्रणालीका मेरुदण्ड भएको उल्लेख गर्नु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा भएको सम्मेलनमा उहाँले विश्वभर छरिएर रहेका स्वास्थ्यकर्मीले स्वास्थ्य प्रणालीलाई बलियो बनाउन एकजुट हुनुपर्नेमा जोड दिनु भयो ।
स्रोत : रासस