काठमाडौं । नेपालका प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरेका छन्।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति सिग्देललाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज बिहान आयोजित एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मुले मानार्थ महारथीको दर्जा प्रदान गरेकी हुन्।

कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलगायत त्यहाँका उच्च सुरक्षा तथा सैन्य अधिकारी, नेपाली दूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सिग्देललाई ‘सुप्रबल जनसेवाश्री महारथी’ भनी सम्बोधन गरिएको थियो।

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीको निमन्त्रणामा प्रधान सेनापति सिग्देल गत मंसिर २६ गते भारत प्रस्थान गरेका थिए। उनी भोली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ । नेपालले भारतको र भारतले नेपालको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिने परम्परा छ।